३ बैशाख २०८३, बिहीबार

 ११ औं वर्षमा प्रवेश गर्दा आरविवि मर्चेन्ट बैंकिङ्गको लोभलाग्दो प्रगति: १० वर्षमा आम्दानी २२ सय प्रतिशतले बढ्यो

78

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आफ्नो १० औं वार्षिकोत्सव सम्पन्न गरी ११ औं वर्षमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंको होटल यल्लो पगोडामा आयोजित एक विशेष कार्यक्रमका बीच कम्पनीले आफ्नो व्यावसायिक यात्राको दशक पूरा गरेको उत्सव मनाएको हो ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा कम्पनीका अध्यक्ष सरस्वती अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

वित्तीय प्रगतिका मुख्य सूचकहरू:

  • आम्दानीमा उल्लेख्य वृद्धि: आर्थिक वर्ष २०७३/७४ को तुलनामा २०८१/८२ सम्म आइपुग्दा कम्पनीको कुल आयमा २,२२१.६५ प्रतिशतको भारी वृद्धि भएको छ ।

  • प्रतिशेयर आम्दानी (EPS): सुरुवातमा ०.३५ रुपैयाँ रहेको ईपीएस हाल २८.८७ रुपैयाँ पुगेको छ ।

  • लाभांश: कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि २० प्रतिशत नगद लाभांशसहित हालसम्म माउ बैंकलाई कुल ७३.६६ प्रतिशत लाभांश प्रदान गरिसकेको छ ।

  • म्युचुअल फण्ड: कम्पनीले हाल आरविवि म्युचुअल फण्ड १, २ र फोकस ४० गरी तीनवटा योजनाहरू सञ्चालन गरिरहेको छ, जसमध्ये फण्ड १ ले २०% र फण्ड २ ले १३% नगद लाभांश वितरण गरेका छन् ।

उत्कृष्ट शाखाहरू सम्मानित:
सो अवसरमा डिम्याट खाता खोल्न उत्कृष्ट योगदान पुर्‍याउने राष्ट्रिय वाणिज्य बैंकका ५ शाखाहरू (सुर्खेत, कीर्तिपुर, बानेश्वर, सल्लेरी र इटहरी) का शाखा प्रमुखहरूलाई सम्मान गरिएको थियो । साथै, लगानी व्यवस्थापन सेवा (PMS) मार्फत उत्कृष्ट लगानी गर्ने २ जना ग्राहकहरूलाई पनि सम्मानित गरियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले कम्पनीको भावी योजना र चुनौतीहरूबारे प्रकाश पार्नुभएको थियो । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाल, सिडिएससीका सीईओ प्रविन पन्दाक लगायत विभिन्न क्षेत्रका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.