भारतको नयाँ बजेट: नेपाललाई १२ अर्ब ८० करोड रुपैयाँ अनुदान विनियोजन
भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ (८०० करोड भारतीय रुपैयाँ) बराबरको अनुदान उपलब्ध गराउने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार संसदमा प्रस्तुत गर्नुभएको वार्षिक बजेटमा नेपालका लागि उक्त वैदेशिक सहायता रकम विनियोजन गरिएको हो।
चालु आर्थिक वर्षको संशोधित अनुमान ७३० करोड भारतीय रुपैयाँ रहेकोमा आगामी वर्षका लागि भारतले केही रकम घटाएर बजेट विनियोजन गरेको छ। भारतले छिमेकी मुलुकहरूमध्ये सबैभन्दा बढी अनुदान भुटानलाई दिने घोषणा गरेको छ, जसका लागि २ हजार २ सय ८८ करोड भारु छुट्याइएको छ।
पाकिस्तानबाहेक दक्षिण एसियाका अन्य सबै मुलुकहरूलाई भारतले आफ्नो बजेटमार्फत अनुदान सहायता प्रदान गर्दै आएको छ। यो अनुदान नेपालमा सञ्चालित विभिन्न विकास आयोजना र द्विपक्षीय सहयोगका क्षेत्रमा खर्च हुनेछ।