१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँकेमा एक जना पक्राउ
बाँके
बाँकेमा १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा खजुरा गाउँपालिका-७ घर भई हाल बैजनाथ गाउँपालिका-६ ‘एच गाउँ’ बस्ने ३० वर्षीय अंगतराम अहिर रहेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा तत्काल सक्रिय भएको प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका अहिरमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।