५ आश्विन २०८३, सोमबार

कम्पनीको कागजात दुरुपयोग गरी ईसेवामार्फत अवैध कारोबार गर्ने युवा पक्राउ

133

काठमाडौँ । कम्पनीको कागजात दुरुपयोग गरी ईसेवामार्फत ठुलो रकमको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कीर्तिपुर नगरपालिका–७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई पक्राउ गरेको हो।

उप्रेतीले ‘वाइड स्पेस इन्टरनेश्नल प्रालि’ को नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर  लगायतका कागजातहरू दुरुपयोग गरेको पाइएको छ। ती कागजात प्रयोग गरी उनले ईसेवा मर्चेन्ट वालेट र व्यक्तिगत वालेट खोली गैरकानूनी आर्थिक कारोबार गर्ने गरेको प्रहरीको दाबी छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ सय ७६ रुपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।

उनको साथबाट प्रहरीले १ थान ल्यापटप, २ थान मोबाइल, विभिन्न कम्पनीका २० थान सिमकार्ड, पेन ड्राइभ र मेमोरी कार्ड समेत बरामद गरेको छ। पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर र सट्टेबाजी  जन्य कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.