गोंगबुबाट ब्राउनसुगरसहित एक युवक पक्राउ
काठमाडौँ – काठमाडौँको गोंगबु क्षेत्रबाट प्रहरीले अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका-९ गोंगबुस्थित मंगल टोलबाट करिब ४५ ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित २४ वर्षीय धन बहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो।
कालिकोट नरहरिनाथ गाउँपालिका-२ घर भई हाल गोंगबु बस्दै आएका विष्टको कोठामा लागूऔषध रहेको विशेष सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबुबाट टोली खटिएको थियो। आइतबार साँझ उनको कोठा खानतलासी गर्दा प्रहरीले ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थका साथै लागूऔषध जोख्न प्रयोग गरिने १ थान डिजिटल तराजु र ३५ हजार रुपैयाँ नगद समेत फेला पारेको छ।
पक्राउ परेका विष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।