त्रिभुवन विमानस्थलबाट ४ किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बैंककबाट लागूऔषध लिएर आएका र सो रकम/सामान बुझ्न आएका दुई जनालाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ३३ वर्षीय भारतीय नागरिक रंजित सिंह रहेका छन् । उनी थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन टनेल गेट एरियामा विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा सिंहको लगेजबाट ४ किलो २ सय ८४ ग्राम गाँजा जस्तो देखिने बस्तु फेला परेको थियो ।
प्रहरीले उक्त लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।