‘कुटी’ बाटै देश बनाउने क्षमता ओलीमा छ : महेश बस्नेत
भक्तपुर ।
नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको नयाँ निवासको बचाउ गर्दै आलोचकहरूलाई कडा जवाफ दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले ओली ‘जोगी’ नभई नेपालकै ठूलो र सक्षम राजनीतिक शक्तिको अध्यक्ष भएको भन्दै उनको आवास पनि सोही अनुसारको हुने बताएका छन्।
ओलीका लागि २–३ कोठाको घर बनाइनुपर्छ भन्ने तर्क अव्यावहारिक भएको बताउँदै बस्नेतले भने, “उहाँको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुनेछ। यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ।”
आवासको नाम ‘कुटी’ वा ‘आश्रम’ जे राखिए पनि त्यो नामाकरण मात्र भएको उनको भनाइ छ। विगतमा ओली “बार्दलीमा पुगे” भनेर व्यंग्य गर्नेहरूलाई जवाफ दिँदै बस्नेतले बार्दलीबाटै ओलीले देशको राजनीति नियन्त्रण र सन्तुलन गरेको स्मरण गराए।
अब ओली राजनीति छोडेर कुटी पुगे भन्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, “राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्छन्।”