वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ३ जना पक्राउ
काठमाडौं ।
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनका श्याम चन्द्र अधिकारी, नवलपरासीका दिल बहादुर सारू मगर र सर्लाहीका चन्द्र भुसण प्रसाद रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, श्याम चन्द्रले अल्बानिया, सर्बिया लगायतका देश पठाउने भन्दै १ करोड २५ लाखभन्दा बढी, दिल बहादुरले सर्बिया पठाउने भन्दै साढे ४ लाख र चन्द्र भुसणले अल्बानिया पठाउने भन्दै ३ लाख ८० हजार रूपैयाँ ठगी गरेका थिए।
पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।