लमजुङकी सिता कँडेलको हत्या अभियोगमा फरार रहेका बुद्धिराम दराई रूपन्देहीबाट पक्राउ
काठमाडौं ।
लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेकी ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको साविक बछौली गाविस–१ र हाल रत्ननगर नगरपालिका–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराई रहेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट पक्राउ गरेको हो।
सिता कँडेल आफ्नै घरमा २०८१ चैत ३१ गते मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटनाको अनुसन्धानका क्रममा दराईको संलग्नता देखिएपछि जिल्ला अदालत लमजुङले २०८२ वैशाख १५ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही समयदेखि फरार रहेका दराईलाई लुकिछिपी बसेको अवस्थामा सिमानाका नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दराईलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको ब्यूरोले जानकारी दिएको छ।