गोंगबुको होटलबाट खैरो हेरोइन र डिजिटल तराजुसहित दुई युवक पक्राउ
काठमाडौंको गोंगबु मित्रनगरस्थित एक होटलबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन र डिजिटल तराजुसहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरमा रहेको ‘न्यू दाङ बर्दिया होटल एण्ड लज’ बाट सोमबार बेलुकी उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका २१ वर्षीय भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका २१ वर्षीय मनिष गुरूङ रहेका छन् ।
कोठा नम्बर २०१ मा छापा
प्रहरी प्रभाग गोंगबु (नयाँ बसपार्क) बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उक्त होटलको कोठा नम्बर २०१ मा खानतलासी गरेको थियो । सो क्रममा ५ सय २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट लागूऔषधका साथै नगद ९ हजार ५ सय रूपैयाँ र लागूऔषध जोख्न प्रयोग गरिने १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।