महिला लघुवित्तद्वारा सदस्यलाई म्यादी बिमा राहत

२०८२ भदौ १८ गते बुधबार, काठमाडौं।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, हेटौंडा शाखाले आफ्नी सदस्य श्रीमती मीना कुमारी भलोनलाई म्यादी बिमाबापतको राहत रकम हस्तान्तरण गरेको छ।
हेटौंडा उपमहानगरपालिका–१, नकौली गाउँस्थित केन्द्र नं. ८३ की सदस्य भलोनका पति बुद्धि बहादुर भलोनको असामयिक निधन भएपछि संस्थाले आफ्नो नियमानुसार १२ हजार ५०० रुपैयाँ (बाह्र हजार पाँच सय) राहत उपलब्ध गराएको हो। सो रकम हेटौंडा उपमहानगरपालिकाकी महिला सदस्य मनु दाहालद्वारा प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै शाखा प्रबन्धक तिर्थ बहादुर श्रेष्ठले यस्ता विपद्को घडीमा सानो सहयोगले पनि सदस्य परिवारलाई सान्त्वना मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो।
त्यस्तै, कर्मचारी सोनी मोक्तानले जीवन अस्थायी भएको उल्लेख गर्दै समयको सही सदुपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा उपस्थित नगर सदस्य मनु दाहालले नकौली क्षेत्रमा बाख्रा तथा तरकारी खेतीको राम्रो सम्भावना रहेको बताउँदै, महिला लघुवित्तले प्रदान गर्ने विना धितो कर्जाको सही सदुपयोग गरी आम्दानी बढाउन सदस्यलाई आग्रह गर्नुभयो।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सन् २०७७ साल श्रावण ४ गतेदेखि तामाङ समुदायका महिलालाई लक्षित गरी हेटौंडामा लघुवित्तीय कारोबार सुरु गरेको हो। संस्थाले आफ्ना नियमानुसार बचत गर्ने सदस्यलाई पनि आकस्मिक विपद् वा दुःखद घटनामा म्यादी बिमाबापत राहत उपलब्ध गराउँदै आएको छ।