“खाली कागजमा हस्ताक्षर नगर्नुस्,” उपसभामुख हटाउने खेलप्रति शेखर कोइरालाको कटाक्ष
२०८२ भाद्र ०६ गते शुक्रबार, काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले खाली कागजमा हस्ताक्षर गर्ने राजनीतिक प्रवृत्तिको कडा आलोचना गरेका छन् । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन सांसदहरूबाट खाली कागजमा हस्ताक्षर संकलन भएको विषयप्रति व्यंग्य गर्दै उनले यस्तो कार्यले गलत राजनीतिक अभ्यासलाई बढावा दिने बताए ।
पत्रकारहरूसँगको कुराकानीमा उनले भने, “मैले मात्र होइन, तपाईंहरू (पत्रकार) ले पनि खाली कागजमा कहिल्यै हस्ताक्षर गर्नुहुँदैन।” उनको यो भनाइ उपसभामुख हटाउने प्रक्रिया र यसमा अपनाइएको अपारदर्शी शैलीप्रति लक्षित थियो ।
यो प्रवृत्ति पहिले पनि थियो भन्ने प्रश्नमा डा. कोइरालाले विगतमा विश्वासको आधारमा हस्ताक्षर हुने गरे पनि अहिले जस्तो जुनसुकै बेला यसको दुरुपयोग हुन थाले व्यवस्थालाई नै अप्ठ्यारो पार्ने तर्क गरे। “पहिले गलत नियतले काम हुँदैनथ्यो होला, तर अहिले जहिले पनि यस्तो गर्न थालियो भने भोलि अप्ठ्यारो स्थिति आउनसक्छ,” उनले भने।
हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानासँग आफ्नो संवाद भएको जानकारी दिँदै कोइरालाले आफूले उनलाई हटाउने प्रस्तावमा हस्ताक्षर नगरेको पनि स्पष्ट पारे ।