“भनेर मात्र हुँदैन, गरेर देखाउनुहोस्” : प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको चुनौती
२०८२ साउन ११ गते आईतबार, काठमाडौं।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारविरुद्ध केवल भाषणमा मात्र सीमित नभई ठोस कदम चाल्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले दिनहुँ भ्रष्टाचारविरुद्ध प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको कार्यान्वयन नदेखिएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले दिनको पाँच चोटि ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्नुहुन्छ। यो सुन्दा राम्रो लाग्छ, तर अब भनेर मात्र पुग्दैन, गरेर देखाउनुपर्यो।”
उहाँले हालै सार्वजनिक भएको एक सांसदको अडियो प्रकरणतर्फ सङ्केत गर्दै सरकारको मौनतामाथि प्रश्न उठाउनुभयो। “एक जना सांसदको अडियो प्रकरण बाहिर आउँछ, अख्तियारले छानबिन गरिरहेको छ भनिन्छ, तर सरकार र कार्यपालिका पूरै मौन देखिन्छ,” कोइरालाले भन्नुभयो, “यस्तो अवस्थामा हामीले कस्तो कार्यपालिकाको कल्पना गरिरहेका छौं? यो गम्भीर प्रश्न हो।”