१४ आश्विन २०८३, बुधबार

सरकारी पत्रमा मेयर साम्पाङको ‘अमर्यादित’ भाषा: ‘कुलङ्घारले दलालीमा भुलेर जग्गा दिएछ’

467

२०८२ साउन ०७ गते बुधबार, काठमाडौं।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको एक पत्र अहिले सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा चर्चाको विषय बनेको छ। सरकारी पत्रचारमा प्रयोग हुने औपचारिक र मर्यादित भाषाको परम्परालाई तोड्दै मेयर साम्पाङले कडा र अमर्यादित शब्दहरू प्रयोग गरेपछि यसले नयाँ बहस सिर्जना गरेको छ।

धरानमा नगर अस्पताल बनाउनका लागि छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फिर्ता माग्दै लेखिएको पत्रमा प्रयोग गरिएका शब्दहरूले सरकारी मर्यादा र कूटनीतिक भाषाको खिल्ली उडाएको टिप्पणी हुन थालेको छ।

के छ पत्रमा?

मेयर साम्पाङद्वारा हस्ताक्षरित र मिति २०८१/०४/०७ मा प्रेषित पत्रमा भनिएको छ, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइछ पठाएछ थाहा भएन। यसरी नगरपालिकोको जग्गा लान पाईंदैन। Please फिर्ता गरिदिनु होला।”

यो पत्र स्वास्थ्य मन्त्रालयलाई बोधार्थ दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (कोशी प्रदेश), र बीपी प्रतिष्ठानलाई समेत पठाइएको छ।

मेयर साम्पाङ आफ्नो ठाडो र प्रत्यक्ष कार्यशैलीका लागि परिचित छन्। सामाजिक सञ्जालमा उनले प्रयोग गर्ने भाषा र शैलीलाई नै सरकारी पत्रमा उतारेको देखिन्छ। तर, एक स्थानीय सरकारको प्रमुखले संघीय मन्त्रालय र प्रधानमन्त्री कार्यालयजस्ता निकायलाई लेख्ने पत्रमा यस्तो भाषाको प्रयोगले संस्थागत मर्यादा र पद्धतिको विषयमा गम्भीर प्रश्न उठाएको छ।

Author

Leave A Reply

Your email address will not be published.