१३ आश्विन २०८३, मंगलवार

एमालेले कांग्रेसको आधारभूत मान्यतामाथि प्रहार गर्‍यो : शेखर कोइराला

368

२०८२ साउन ०६ गते मंगलबार, काठमाडौं।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा (एमाले) ले कांग्रेसको आधारभूत मूल्यमान्यतामाथि निरन्तर प्रहार गरिरहेको गम्भीर आरोप लगाएका छन्। बीपी स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारमा रहनु बाध्यता भए पनि कांग्रेसले आफ्नो महत्त्व बिर्सन नहुने बताए।

नेता कोइरालाले विभिन्न विधेयकहरूमा एमालेको भूमिकाप्रति आपत्ति जनाए। ‘कुलिङ अफ पिरियड’ हटाउने प्रस्ताव ल्याएर एमालेले कांग्रेसको भ्रष्टाचार विरोधी मान्यतामाथि आक्रमण गरेको उनको भनाइ थियो। उनले यस विषयमा समयमै ध्यान दिन नसक्नुमा पार्टीका सांसदहरू, सम्बन्धित समिति र आफ्नो समेत कमजोरी रहेको स्वीकार गरे।

त्यस्तै, भूमि सम्बन्धी विधेयक बिना छलफल हतारमा पारित गर्न खोजिएको भन्दै उनले एमाले सांसदहरू समितिमा छलफल गर्न डराइरहेको आरोप लगाए।

संवैधानिक परिषद् सम्बन्धी विधेयकप्रति सबैभन्दा गम्भीर चिन्ता व्यक्त गर्दै कोइरालाले राष्ट्रिय सभाबाट पारित व्यवस्थाले संविधानको मर्म नै मार्ने बताए। “प्रधानमन्त्री र एक सदस्यले मात्रै सबै निर्णय गर्न सक्ने व्यवस्थाले संवैधानिक परिषद्को औचित्य समाप्त पार्छ,” उनले भने, “यो व्यवस्था भोलि कांग्रेसकै प्रधानमन्त्री हुँदा पनि गलत हुन्छ।”

कोइरालाले पार्टी सभापतिले यी विषयमा सरकार प्रमुखसँग दृढतापूर्वक अडान लिनुपर्ने र गठबन्धनमा कांग्रेसको फरक अस्तित्व देखाउनुपर्नेमा जोड दिए।

Author

Leave A Reply

Your email address will not be published.