शिक्षकहरूको आन्दोलन १४ दिनदेखि जारी, सरकारसँग वार्ता अझै निष्कर्षविहीन
२०८२ बैशाख ०३ गते, बुधबार काठमाण्डौ।
शिक्षा क्षेत्रमा सुधार र पेशागत सुरक्षाको माग राख्दै गत चैत २० गतेदेखि सुरु गरिएको शिक्षकहरूको आन्दोलन आज १४ औँ दिनमा पुगेको छ। विद्यालय तहका शिक्षक संघसंस्थाहरूको संयुक्त आह्वानमा सञ्चालन भएको यो आन्दोलनले देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन पूर्णरूपमा प्रभावित बनाएको छ।
दुई हप्तादेखि आन्दोलनरत शिक्षकहरू देशभरका शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालयहरू, र स्थानीय तहहरूमा धर्ना, प्रदर्शन तथा जुलुसमा सहभागी भइरहेका छन्। विद्यालयमा पठनपाठन ठप्प भएपछि लाखौँ विद्यार्थीको अध्ययन प्रभावित भएको छ भने अभिभावकहरूमा चासो र चिन्ता बढेको छ।

नेपाल शिक्षक महासंघसहितका संगठनहरूले सरकारले गम्भीरतापूर्वक वार्ता नगरेको आरोप लगाउँदै आन्दोलन अझ सशक्त पार्ने चेतावनी दिएका छन्। महासंघका अध्यक्षले भने, “हामी वार्ताबाट समाधान खोज्न तयार छौँ, तर सरकारको ढिलासुस्तीले आन्दोलन लम्बिन बाध्य भएको छ।”
विद्यालयमा पठनपाठन बन्द हुँदा विशेष गरी कक्षा ८, १० र १२ का विद्यार्थीहरू प्रभावित भएको छन् । अभिभावकहरूले शिक्षक र सरकार दुबैलाई सहमतिमा पुग्न दबाब दिन थालेका छन् ।
१४ दिनदेखि जारी शिक्षक आन्दोलनले शिक्षा प्रणालीलाई गम्भीर असर पारिरहेको छ। वार्ताले सार्थकता नपाउँदा आन्दोलन चर्किंदै गएको छ। समस्याको दीर्घकालीन समाधानका लागि दुबै पक्षबाट गहिरो संवाद आवश्यक देखिएको छ।

तस्बिरहरु : बिनोद पौडेल