१ आश्विन २०८३, बिहीबार

बेपत्ता कर्मचारीमाथि मन्त्रीको एक्सन: नार्कका दुई जना सेवाबाट बर्खास्त

79

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित (बेपत्ता) रहेका कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रक्रिया सुरु गर्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहनुभएकी मन्त्री चौधरीले मन्त्रालय मातहतका निकायमा दरबन्दी ओगटेर काम नगर्ने प्रवृत्तिविरुद्ध कडा कदम चाल्नुभएको हो ।

यसै क्रममा, नार्कको कार्यकारी समितिको निर्णयअनुसार कृषि अनुसन्धान निर्देशनालय तरहरा (सुनसरी) का प्राविधिक अधिकृत पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटारकी वैज्ञानिक नमिता भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ । उनीहरूलाई ‘कर्मचारी प्रशासन विनियमावली, २०६२’ को व्यवस्था बमोजिम अनुपस्थित भएकै मितिदेखि लागू हुने गरी हटाइएको हो ।

घर ठेगानामा पत्राचार र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दा समेत तोकिएको समयभित्र सम्पर्कमा नआएपछि उनीहरूलाई सेवाबाट हटाउने निर्णय गरिएको मन्त्री चौधरीले बताउनुभयो । “सरकारले सुशासन र जनतामुखी सेवालाई प्राथमिकता दिएको छ, दरबन्दी ओगटेर जिम्मेवारी पूरा नगर्ने जो कोहीलाई पनि कारबाही हुन्छ,” उहाँले भन्नुभयो ।

मन्त्री चौधरीले यो अभियान नार्कबाट सुरु गरिएको र अब मन्त्रालय अन्तर्गतका अन्य विभाग, केन्द्र तथा निकायहरूमा वर्षौँदेखि बेपत्ता रहेका कर्मचारीहरूलाई समेत क्रमशः हटाउने तयारी रहेको जानकारी दिनुभयो ।

Author

Leave A Reply

Your email address will not be published.