४ आश्विन २०८३, आईतवार

निर्वाचन सुरक्षा व्यवस्थापनबारे आयोग र गृह मन्त्रालयबीच छलफल: भयरहित वातावरण बनाउने प्रतिबद्धता

178

काठमाडौँ । आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग र गृह मन्त्रालयबीच बुधबार सुरक्षा व्यवस्थापन सम्बन्धी वृहत छलफल भएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा आयोजित उक्त बैठकमा निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे गहन समीक्षा गरिएको हो ।

छलफलमा निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि किसिमका आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउने विषयमा सहमति भएको छ । साथै, निर्वाचनलाई पारदर्शी एवम् निष्पक्ष रूपमा सम्पन्न गराउन सबै सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै भरपर्दो सुरक्षा रणनीति अपनाउने निर्णय समेत भएको छ ।

कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्यालले सरकार निर्वाचनका लागि भरपर्दो सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षा निकायहरूसँगको समन्वयमा ढुक्कसँग मतदान गर्ने वातावरण सिर्जना गरिने उल्लेख गर्नुभयो ।

बैठकमा निर्वाचन आयुक्तहरू जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत निर्वाचन आयोगका वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.