४ आश्विन २०८३, आईतवार

प्रतिनिधिसभा निर्वाचन: ५ जना उम्मेदवारविरुद्ध दावी विरोध दर्ता, ३,४८७ जनाको मनोनयन

210

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूमध्ये ५ जना विरुद्ध दावी विरोध (उजुरी) परेको छ । निर्वाचन आयोगले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारविरुद्ध परेको उजुरीको विवरण सार्वजनिक गरेको हो ।

आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४ सय ८७ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको थियो । ती उम्मेदवारहरू उपर दावी विरोध पेश गर्नका लागि माघ ७ गते आइतबार बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्मको समय तोकिएको थियो ।

उक्त निर्धारित समयभित्र विभिन्न चार जिल्लाका ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

कहाँ-कहाँ परे उजुरी ?
आयोगको विवरण अनुसार सबैभन्दा बढी भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । त्यसैगरी सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना र कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयहरूबाट प्राप्त जानकारीका आधारमा आयोगले यो विवरण सार्वजनिक गरेको हो । अब निर्वाचन अधिकृतको कार्यालयले यी उजुरीहरूमाथि छानबिन गरी आवश्यक निर्णय लिनेछ । वि.सं. २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने कार्यतालिका रहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.