५ आश्विन २०८३, सोमबार

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु, घटनास्थलमा तनाव

170

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ पुरी टोलमा बुधबार राति तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको छ। भारतबाट आफ्नो सिटी सफारीमा चिनी लोड गरेर ल्याउँदै गरेका ४५ वर्षीय विजय साहको गोली लागेर ज्यान गएको हो।

सशस्त्र प्रहरी बलका अनुसार राति करिब १:१० बजे सामान बोकेका ई-रिक्साहरूलाई रोक्न खोज्दा झडप भएको थियो। सशस्त्र प्रहरी बल इटहरीका डीआईजी कुमार न्यौपानेले तस्कर समूहले सुरक्षाकर्मीलाई नै ठक्कर दिएर भाग्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको दाबी गर्नुभएको छ। उक्त झडपमा दुई जना सशस्त्र प्रहरी जवान समेत घाइते भएका छन्।

यता, स्थानीय बासिन्दाले भने तस्करी नियन्त्रणका नाममा सुरक्षाकर्मीले सिधै गोली चलाएको भन्दै उग्र विरोध प्रदर्शन गरिरहेका छन्। आक्रोशित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै शव उठाउन नदिएपछि घटनास्थलमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।

Author

Leave A Reply

Your email address will not be published.