युके पठाइदिने भन्दै ४८ जनासँग साढे ४ करोड ठग्ने दुई जना झापाबाट पक्राउ
वैदेशिक रोजगारीका लागि युके (बेलायत) पठाइदिने भन्दै ४८ जना सर्वसाधारणसँग करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं घर भई ललितपुर बस्ने ५१ वर्षीय मनोज कुमार सिंह (अनुप कुमार सिंह) र दोलखा घर भई भक्तपुर बस्ने ५१ वर्षीय लड्डु बहादुर श्रेष्ठ (नर बहादुर श्रेष्ठ) रहेका छन्।
उनीहरूले युकेमा आकर्षक तलब हुने प्रलोभन देखाएर ४८ जना पीडितबाट ४ करोड ३९ लाख ५१ हजार ५ सय ५८ रूपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापा प्रहरीसँगको समन्वयमा उनीहरूलाई मेचीनगर-१० धुलाबारीबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।