५ आश्विन २०८३, सोमबार

पोखरा विमानस्थल निर्माणमा ७ अर्ब ४३ करोड बढीको भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध आरोपपत्र

372

काठमाडौं ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन ५ जना मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीहरू र चिनियाँ निर्माण कम्पनीसहित ५५ जनाविरुद्ध आरोपपत्र दायर भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपकचन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री डा. रामशरण महत लगायतलाई प्रतिवादी बनाइएको छ । साथै, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी, तत्कालीन सचिवहरू तथा चिनियाँ कम्पनी CAMC Engineering Co. Ltd. माथि पनि अभियोग लगाइएको छ ।

घटनाको मुख्य विवरण:
प्राधिकरणले विमानस्थल निर्माणका लागि करिब १६६ मिलियन अमेरिकी डलर (भ्याट र कन्टेन्जेन्सी सहित) को लागत अनुमान स्वीकृत गरेको थियो । तर, सार्वजनिक खरिद ऐन विपरीत चिनियाँ कम्पनी CAMC सँगको मिलेमतोमा लागत अस्वाभाविक रूपमा बढाएर २१५.९६५ मिलियन अमेरिकी डलर (करिब २१ अर्ब ६० करोड रूपैयाँ) मा सम्झौता गरिएको थियो ।

अनुसन्धान अनुसार, प्रक्रिया मिचेर र अस्वाभाविक रूपमा लागत बढाई राज्यलाई ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर (करिब ७ अर्ब ४३ करोड रूपैयाँ) नोक्सान पुर्‍याएको र सोही बराबरको रकम निर्माण कम्पनीलाई गैरकानुनी लाभ गराएको ठहर गरिएको छ ।

सम्झौता गर्दा सार्वजनिक खरिद ऐनका बाध्यकारी व्यवस्थाहरूलाई लत्याउँदै, बोलपत्र रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्नेमा बदनियतपूर्वक पुरानै कम्पनीसँग महँगोमा सम्झौता गरिएको अभियोगपत्रमा उल्लेख छ ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.