देश दिनप्रतिदिन अधोगतितर्फ, हामी सबै चुक्यौं: शेखर कोइराला
२०८२ भदौ ०६ गते शुक्रबार, काठमाडौं।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक तथा सामाजिक अवस्था निरन्तर खस्किरहेको बताउँदै यसमा नेता, सरकार र पत्रकारलगायत सबै पक्ष चुकेको टिप्पणी गरेका छन्। उनले देशलाई यो अवस्थाबाट बाहिर निकाल्न सबैले आफ्नो जिम्मेवारी बोध गर्नुपर्ने बेला आएको बताए।
शुक्रबार काठमाडौंको ज्ञानज्योति महिला माध्यमिक विद्यालयको वार्षिकोत्सवको कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, “अहिले राजनीतिक मात्रै होइन, सामाजिक अवस्था पनि झर्दै गइरहेको छ। हामी कतै न कतै चुकिरहेका छौँ; नियम, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु र पत्रकार मित्रहरु पनि चुकेको म देख्छु।”

उनले यो खस्कँदो अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैको भएको भन्दै सकारात्मक सोचका साथ अघि बढे मात्र देशले गति लिने धारणा राखे। लोकतन्त्रमा शिक्षित समाजको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले सार्वजनिक विद्यालयको प्रवर्द्धनमा जोड दिए।