सरकारी सेवामा कडाइ: ५ महिनामा ११ हजार कर्मचारीमाथि कारबाही
काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयहरूमा अनुशासन र जनगुनासो सुनुवाइलाई तीव्र पारेको छ । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्मको पाँच महिनामा ११ हजार ४ जना कर्मचारी कारबाहीमा परेका छन् ।
केन्द्रले ९२४ वटा सरकारी कार्यालयमा गरेको अनुगमनका क्रममा समय पालना नगर्ने १० हजार २६८, तोकिएको पोशाक नलगाउने ६४५ र कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित निकायमा निर्देशन दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३१८ कार्यालयको मात्र अनुगमन भएकोमा यस वर्ष अनुगमनको संख्या झन्डै तीन गुणाले बढाइएको छ ।

यस्तै, केन्द्रमा दर्ता भएका १ हजार २९८ उजुरीमध्ये ८५.८२ प्रतिशत (१ हजार ११४ वटा) फछ्र्यौट गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ११.७२ प्रतिशतले बढी हो । सरकारी निकायमा हुने भ्रष्टाचार, ढिलासुस्ती वा अनुशासनहीनता विरुद्ध सतर्कता केन्द्रले हटलाइन नम्बर ०१-४२००३४५ मार्फत सूचना दिन सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।