१२ श्रावण २०८३, मंगलवार

‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्न प्रधानमन्त्री शाहको निर्देशन, रुग्ण उद्योगहरू पुनः सञ्चालन गरिने

22

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस क्षेत्रको विस्तारका लागि सरकारले सबै प्रकारका नीतिगत र व्यावहारिक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काउन्सिल गठन र रुग्ण उद्योग सञ्चालनको तयारी
छलफलका क्रममा संघका पदाधिकारीहरूको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहने गरी ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठनको प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभयो । यो काउन्सिल बनेपछि स्वदेशी कच्चा पदार्थमा आधारित पोसाकको निर्यात प्रवद्र्धन र आयात व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

साथै, प्रधानमन्त्रीले निजी क्षेत्रका रुग्ण (बन्द अवस्थामा रहेका) तयारी पोसाक उद्योगहरूलाई तुरुन्तै पुनः सुचारु गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिनुभएको छ ।

अन्तर्राष्ट्रिय बजार र निर्यातमा सहजता
नेपाली तयारी पोसाकको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि प्रधानमन्त्रीले विशेष चासो देखाउनुभएको छ । विशेषगरी अमेरिकामा नेपाली उत्पादनको निर्यातमा देखिएको ‘टेस्टिङ सर्टिफिकेसन’ को समस्या समाधान गर्न र निर्यातको बाटो खुलाउन उहाँले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यस्तै, निःशुल्क व्यापार सम्झौता (एफटीए) र वैदेशिक लगानी (एफडीआई) ल्याउन तत्कालै ठोस कदम चाल्ने उहाँले बताउनुभयो ।

‘फार्म टु एक्सपोर्ट’ र ग्रीन गार्मेन्ट भिलेज
प्रधानमन्त्री शाहले ‘फार्म टु फाइबर’, ‘फाइबर टु फेब्रिक’, ‘फेब्रिक टु फेसन’ र ‘फेसन टु एक्सपोर्ट’ को लक्ष्य पूरा गर्न आवश्यक पर्ने दक्ष जनशक्ति स्वदेशमै उत्पादन गरिने प्रतिबद्धता जनाउनुभयो । नीति तथा कार्यक्रममा समेटिएको ‘ग्रीन गार्मेन्ट भिलेज’ का लागि बजेट अभाव भएको व्यवसायीको गुनासोमा प्रधानमन्त्रीले उपयुक्त ठाउँमा जग्गा खोज्न आग्रह गर्दै आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री शाहले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा पुर्‍याउन तयारी पोसाक उद्योगको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले २०४० सालतिरको ‘निर्यातका आधारमा आयात गर्ने’ अभ्यासलाई पुनः अध्ययन गरी कार्यान्वयन गर्न र कच्चा पदार्थमा नेपाल आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभयो ।

भेटघाटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमार गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको सहभागिता रहेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.