मोरङमा अमेरिकन पेस्तोल र हतियारसहित दुई जना पक्राउ
मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिका–३ का प्रेम बहादुर गुरूङ रहेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ सिलास लिम्बुको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको घरबाट ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल, २ थान हेण्डसेट र भरुवा बन्दुक जस्तो देखिने १ थान काठको हतियार फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा लिम्बुले उक्त हतियार र हेण्डसेट सोही नगरपालिका–३ बस्ने प्रेम बहादुर गुरूङसँग लिएको बयान दिएका थिए। सोही बयानका आधारमा प्रहरीले गुरूङलाई पनि तत्कालै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ। हतियार कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।