३ बैशाख २०८३, बिहीबार

अपर रिचेत हाइड्रोपावरको आईपीओ आउँदै, आरविवि मर्चेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त

72

गोरखा जिल्लामा २ मेगावाट क्षमताको विद्युत उत्पादन गरिरहेको अपर रिचेत हाइड्रोपावर प्राईभेट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (IPO) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धमा माघ २६ गते सोमबारका दिन दुई संस्थाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नुभएको छ।

८ लाख कित्ता शेयर निष्काशन हुने
कम्पनीले आफ्नो कुल ४० करोड रुपैयाँ चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आगामी श्रावण वा भदौ महिनाभित्र आईपीओ निष्काशन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

पब्लिक लिमिटेडमा रूपान्तरण र रेटिङ प्रक्रिया
आईपीओ प्रक्रियालाई अगाडि बढाउन कम्पनीले आफूलाई तत्कालै ‘पब्लिक लिमिटेड’ कम्पनीमा रूपान्तरण गर्ने तयारी गरेको छ। साथै, शेयर निष्काशनका लागि आवश्यक पर्ने क्रेडिट रेटिङको कार्य पनि अघि बढाइएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोजनाको विवरण
अपर रिचेत हाइड्रोपावरको विद्युत उत्पादन केन्द्र गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित छ। यस आयोजनाले २०८१ सालको भदौ महिनादेखि नै नियमित रूपमा विद्युत उत्पादन गर्दै आइरहेको छ।

कम्पनीले सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्दै संकलित पुँजीबाट आयोजनालाई थप सुदृढ बनाउने योजना बनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.