६ बैशाख २०८३, आईतवार

श्री कानपुर माध्यमिक विद्यालयको ७८औँ स्थापना दिवस आज भव्य रूपमा मनाइँदै

263

२०८२ माघ २१ गते बुधबार

काभ्रेपलाञ्चोक- नमोबुद्ध नगरपालिका अन्तर्गत रहेको श्री कानपुर माध्यमिक विद्यालयले आज आफ्नो स्थापनाको ७८औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाउँदैछ।

विद्यालयको स्थापनादेखि हालसम्मको शैक्षिक यात्रालाई स्मरण गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालय स्मारिकाको विमोचन समेत गरिँदैछ। स्मारिकामा विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक उपलब्धिहरू, पूर्व तथा वर्तमान शिक्षक–कर्मचारीको विवरण, साथै विद्यार्थीहरूको सिर्जनात्मक रचनाहरू समेटिएको छ।

वार्षिकोत्सव कार्यक्रम बागमती प्रदेश सभा सदस्य तथा पूर्व युवा तथा खेलकुदमन्त्री माननीय रत्न ढकालको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन, तथा विभिन्न सम्मान कार्यक्रमहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, पूर्व विद्यार्थी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ। आज बिहान १० बजेदेखि सुरु हुने यस कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम व्यवस्थापन समितिले जनाएको छ।

स्थानीय समुदायको सक्रिय सहयोगमा स्थापना भएको श्री कानपुर माध्यमिक विद्यालयले विगत ७८ वर्षदेखि यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य शिक्षा प्रदान गर्दै आएको छ। सीमित स्रोत-साधनका बाबजुद पनि विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गर्दै आएको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.