शहिद स्मारक सहकारीमा नयाँ नेतृत्व: विगतका अनियमिततामा शून्य सहनशीलताको प्रतिबद्धता
काठमाडौँ । शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन काठमाडौँमा सम्पन्न भएको छ। अधिवेशनले प्रा. डा. गणेशमान गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
माननीय सोमनाथ अधिकारी ‘प्यासी’को अध्यक्षतामा सम्पन्न साधारण सभाले अध्यक्षको प्रतिवेदन र आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदनसहित विभिन्न साङ्गठनिक प्रस्तावहरू पारित गरेको छ। २०६२/०६३ को जनआन्दोलनका शहिदहरूको स्मृतिमा स्थापित यस सहकारीले हाल शहिद मेमोरियल अस्पताल र विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
नयाँ कार्यसमिति:
अधिवेशनबाट उपाध्यक्षमा निलकण्ठ काफ्ले, सचिवमा पुरुषोत्तम अधिकारी, सह–सचिवमा समिरा प्रधान र कोषाध्यक्षमा भगवान धले निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा उपेन्द्र पौड्याल, दीपक बस्नेत, तीर्थ प्रधान, रामचन्द्र कोइराला, राजेन्द्रमान श्रेष्ठ, दिपेन्द्र के.सी. र सरिता महर्जन चयन भएका छन्। महिला सदस्यहरूमा सीता रिजाल, राजकुमारी भुजेल र तुलसी शाह निर्वाचित भएका छन्।

अनियमितता गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता:
नवनिर्वाचित अध्यक्ष प्रा. डा. गुरुङले संस्थामा विगतमा तत्कालीन प्रबन्ध निर्देशक तथा मेडिकल डाइरेक्टरबाट भएका भनिएका आर्थिक अनियमिततामाथि कडा कदम चाल्ने घोषणा गर्नुभएको छ। उहाँले तथ्य र प्रमाणका आधारमा शून्य सहनशीलताको नीति अपनाई दोषीलाई कडा कारबाही गरिने स्पष्ट पार्नुभयो। स्वास्थ्य क्षेत्रमा १९ वर्षदेखि निरन्तर सेवा दिनु गर्वको विषय भएको भन्दै उहाँले आगामी दिनमा अस्पतालको सेवा थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थामा १५ वर्षदेखि निरन्तर सेवा गरिरहेका उत्कृष्ट कर्मचारीहरू रुद्र न्यौपाने, दिलमाया महर्जन, सङ्गीता महर्जन, शान्ताकुमारी थापा र सीता श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो।
वरिष्ठ अधिवक्ता ओम थपलियाको संयोजनमा भएको कार्यक्रममा शहिद स्मारक कलेजका अध्यक्ष निलकृष्ण ताम्राकारले स्वागत मन्तव्य राख्नुभएको थियो। नयाँ नेतृत्वले संस्थाको गरिमालाई अझ उचाइमा पुर्याउने र पारदर्शी ढङ्गले अघि बढ्ने विश्वास दिलाएको छ।