प्रहरी चारित्रिक प्रमाणपत्रमा नक्कली छाप लगाएर कीर्ते गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने प्रहरी चारित्रिक प्रमाणपत्र (PCC) मा कन्सुलर सेवा विभागको नक्कली छाप लगाएर प्रमाणीकरण गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बाजुराको बुढीगंगा नगरपालिका-५ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३३ वर्षीय पृथ्वी बहादुर थापा र पाल्पाको रिब्दीकोट गाउँपालिका-८ घर भई कीर्तिपुरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका २७ वर्षीय सन्तोष पौडेल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले भिसा आवेदनका लागि पेस गरिने प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको प्रमाणीकरण छाप (Stamp) नक्कल गरी सरकारी कागजात कीर्ते गर्ने कार्यमा संलग्न रहेका थिए।
पक्राउ परेका दुवै जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।