काठमाडौंको कुलेश्वरबाट स्रोत नखुलेको ५७ लाख बढी नगदसहित काभ्रे नमोबुद्धका सरोज श्रेष्ठ
२०८२ मङ्सिर २१ गते आइतबार, काठमाडौं।
काठमाडौं महानगरपालिका–१४ कुलेश्वर क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–९ घर भई हाल कुलेश्वरमा डेरा गरी बस्ने ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन्।
प्रहरी वृत्त कालीमाटीका अनुसार, आइतबार दिउँसो विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। सुरुमा उनको साथबाट स्रोत नखुलेको २० लाख रूपैयाँ बरामद भएको थियो।
उक्त रकमसहित पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको कोठा खानतलासी गरेको थियो। खानतलासीका क्रममा कोठाभित्र लुकाइराखेको अवस्थामा थप ३७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
यसरी निजको साथबाट र कोठाबाट गरी कुल ५७ लाख ४७ हजार ३ सय ५० रूपैयाँ बरामद भएको छ। बरामद गरिएको रकम हुन्डी कारोबार वा अन्य कुनै अवैध गतिविधिबाट आएको हुन सक्ने आशंका गरिएको छ।
यस सम्बन्धमा प्रहरी वृत्त कालीमाटीले श्रेष्ठलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाएको छ।