चाँदीको मूल्यले बनायो नयाँ कीर्तिमान, सुन तोलामा ८ सयले बढ्यो
काठमाडौं, १७ मंसिर ।
नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ । विशेषगरी चाँदीको मूल्यले भने ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा ११० रुपैयाँले बढेर ३ हजार ६५५ रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन चाँदी ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सुनको मूल्य पनि तोलामा ८०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।