‘प्रहरी हौं’ भन्दै औषधि पसलमा ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । आफूलाई लागूऔषध नियन्त्रण ब्यूरोको प्रहरी भएको बताउँदै औषधि पसलहरूबाट रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काभ्रे घर भई गोकर्णेश्वर बस्ने ३७ वर्षीय नानि बाबु लामा (आकाश) र दोलखा घर भई काठमाडौं-६ बस्ने ३४ वर्षीय प्रकाश तामाङ रहेका छन्।
उनीहरूले काठमाडौंका विभिन्न औषधि पसलहरूमा पुगेर आफूहरू ब्यूरोबाट खटिएको प्रहरी भएको भन्दै पसल खानतलासी गर्ने गरेका थिए। “तपाईंहरूले अवैध औषधि बिक्री गरिरहनुभएको छ, हामी नियन्त्रणमा लिन्छौं” भन्दै सञ्चालकहरूलाई डर-त्रास देखाई उनीहरूले मोटो रकम असुल्ने गरेको प्रहरीको दाबी छ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-६ बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ६ दिनको म्याद थप गरिएको छ। उनीहरूले अन्य स्थानमा पनि यसै गरी ठगी गरे/नगरेको बारेमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान अगाडि बढाएको छ।