५ आश्विन २०८३, सोमबार

विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न: निर्वाचन र सुरक्षा सुदृढीकरणमा जोड

206

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार विराटनगरमा एकदिवसीय ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२’ सम्पन्न भएको छ। गृह मन्त्रालय र कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा प्रदेशको समग्र शान्ति सुरक्षा, सुशासन र आगामी चुनौतीबारे विस्तृत छलफल भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले जिल्लाहरूको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकार दृढ रहेको बताउनुभयो। उहाँले सुरक्षा निकायको मनोबल उच्च राख्न सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै सुरक्षा चुनौतीको सामना गर्न सबै निकायलाई निर्देशन दिनुभयो।

त्यसैगरी, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा अमनचयन कायम गर्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले कोशी प्रदेशमा लागूऔषध दुर्व्यसन एक गम्भीर समस्याको रूपमा देखिएकाले यसलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। मुख्यमन्त्री कार्कीले सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको समेत स्पष्ट पार्नुभयो।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र सीमा क्षेत्रमा हुने चोरी-तस्करी, राजस्व चुहावट, गुण्डागर्दी तथा सवारी दुर्घटना न्यूनीकरणका लागि योजनाबद्ध रूपमा सक्रिय हुन प्रहरी टोलीलाई निर्देशन दिनुभयो। गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाको सुरक्षा अवस्था र समस्या समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए। गोष्ठीमा विभिन्न सुरक्षा निकायका प्रमुख तथा उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।

Author

Leave A Reply

Your email address will not be published.