पाल्पामा भरुवा बन्दुकसहित ६४ वर्षीय वृद्ध पक्राउ
पाल्पा । पाल्पाको तानसेन नगरपालिकाबाट प्रहरीले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान रेश्मीको घर खानतलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको हो।
घरमा अवैध बन्दुक राखेको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई हतियारसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका रेश्मीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।