१९ माघ २०८२, सोमबार

काभा भलिबल खेल्न माल्दिभ्स जाने प्रहरी महिला टोलीलाई महानिरीक्षक कार्कीद्वारा बिदाइ

8

काठमाडौं
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्कीले माल्दिभ्समा आयोजना हुने ‘काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६’ मा सहभागी हुन जाने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले टोलीलाई बिदाइ गर्नुभएको हो । उक्त प्रतियोगिता आगामी माघ २१ गतेदेखि २७ गतेसम्म मित्रराष्ट्र माल्दिभ्समा सञ्चालन हुँदैछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कार्कीले यो सहभागिता नेपाल प्रहरीको मात्र नभई सिंगो राष्ट्रको प्रतिनिधित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले मैदानमा गर्ने उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाल प्रहरी संगठनको गौरव बढाउनेछ । उच्च अनुशासन र खेल कौशलका साथ देशको नाम राख्न मेरो शुभकामना छ ।”

माल्दिभ्स प्रस्थान गर्ने उक्त टोलीमा १४ जना खेलाडी र ४ जना अफिसियल गरी जम्मा १८ जना रहेका छन् । बिदाइ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.