श्रीमतीको हत्या गरी श्रीमान आफैं पुगे प्रहरी चौकी
ललितपुर, २४ कात्तिक ।
ललितपुरको गोदावरी नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन् । गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङले २३ वर्षीया श्रीमती कोपिला नेपालीको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान श्रीमान-श्रीमतीबीच सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि आक्रोशित बनेका बिनोदले कोपिलालाई दाउराको चिरपटले प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भीर घाइते भएकी कोपिलाको घटनास्थलमै मृत्यु भएको हो ।
श्रीमतीको मृत्यु भएपछि बिनोद आफैं प्रहरी चौकी टिकाभैरव पुगेर घटनाबारे जानकारी गराएका थिए । उनले प्रहरीलाई आफूले श्रीमतीको हत्या गरेको बताएलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृतकको शव परीक्षणका लागि पठाइएको छ भने घटनाका सम्बन्धमा थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान भइरहेको छ ।