५ आश्विन २०८३, सोमबार

भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको झलनाथ खनालद्वारा कडा निन्दा

216

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले भेनेजुएलामाथि भएको भनिएको अमेरिकी सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको कडा शब्दमा निन्दा र भर्त्सना गरेका छन् ।

खनालले एक वक्तव्य जारी गर्दै अमेरिकी प्रशासनको डेल्टा फोर्सले १५० लडाकु विमानमार्फत भेनेजुएलामाथि क्रूर हमला गरेको दाबी गर्दै यसलाई ‘राज्य आतंकवाद’ र ‘प्रभुत्ववादी दादागिरी’को संज्ञा दिएका हुन् ।

उनले भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरेर अमेरिका पुर्‍याइएको भन्दै यस कार्यले अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाएको उल्लेख गरेका छन् । खनालका अनुसार भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले सो भण्डार कब्जा गर्न र लुट्नकै लागि अमेरिकाले ‘ड्रग ट्राफिकिङ’को झुटो बहाना बनाएर यो आक्रमण गरेको हो ।

“यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो,” खनालले वक्तव्यमा भनेका छन्, “म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारबाहीको घोर निन्दा र भर्त्सना गर्दछु ।”

नेता खनालले भेनेजुएलाका जनताको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रपति मदुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गरेका छन् । उनले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंस्रक आक्रमणका विरुद्ध कडा कानुनी कारबाही गर्न र साना तथा कमजोर मुलुकहरूको स्वतन्त्रताको रक्षाका लागि एकताबद्ध हुन समेत अपिल गरेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.