प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुन प्रचण्ड आज दिल्ली जाँदै
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। विभिन्न कम्युनिस्ट घटकका प्रवासी संगठनहरूले आयोजना गरेको ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार सोमबार दिउँसो १ बजे नयाँ दिल्लीको लाजपत नगरमा हुने उक्त कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध र प्रवासी नेपालीका समस्याबारे सम्बोधन गर्नेछन्।
भ्रमणका क्रममा अन्य कुनै राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको सचिवालयले जनाएको छ। प्रचण्ड भोलि (सोमबार) साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।