समानुपातिकतर्फ हालसम्म ९ दलले बुझाए बन्दसूची, ठूला दल अन्तिम तयारीमा
काठमाडौँ – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ९ वटा राजनीतिक दलले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन्। आयोगका अनुसार आइतबार ३ दल र सोमबार थप ६ दलले सूची दर्ता गराएका हुन्।
सूची बुझाउनेमा नेपाल मजदूर किसान पार्टी (११० जना), राष्ट्रिय जनमोर्चा (११० जना) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (१०१ जना) मुख्य रहेका छन्। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, नेकपा मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी र समावेशी समाजवादी पार्टीहरूले पनि आ-आफ्नो उम्मेदवारको सूची बुझाएका छन्।
समानुपातिक सूची बुझाउने म्याद आजै (सोमबार) सम्म मात्र भएकाले नेपाली कांग्रेस, एमाले, नेकपा, रास्वपा र राप्रपा जस्ता ठूला दलहरू सूची बुझाउने अन्तिम तयारीमा जुटेका छन्। यी दलहरूले आज रातिसम्ममा आयोग पुगेर बन्दसूची दर्ता गराउने कार्यक्रम रहेको छ।