जेनजी जनादेश’ कार्यान्वयनमा ढिलाइ र पक्राउ विरुद्ध सुदन गुरुङको आक्रोश; गृहमन्त्रीलाई सम्पर्क गर्न पीडितलाई आग्रह
काठमाडौँ: ‘जेनजी’ आन्दोलनका अगुवा सुदन गुरुङले सरकार र आन्दोलनकारी पक्षबीच भएको ‘जेनजी जनादेश’ कार्यान्वयनमा भइरहेको अवरोध र आन्दोलनकारीमाथि भइरहेको धरपकडप्रति कडा आपत्ति जनाएका छन्।
गुरुङका अनुसार प्रधानमन्त्रीबाट हस्ताक्षर भई राजपत्रमा समेत अंकित भइसकेको ‘जेनजी जनादेश’लाई राष्ट्रपतिले हस्ताक्षर गर्न आलटाल गर्दा कार्यान्वयनमा जटिलता थपिएको छ। सम्झौता बमोजिम भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउनुको साटो सरकार उल्टै भाद्र २३ र २४ गतेको घटनालाई लिएर झुठा र अभद्र मुद्दामा आन्दोलनकारीलाई फसाउन सक्रिय रहेको उनले आरोप लगाएका छन्।
पक्राउ परेका व्यक्तिहरूको रिहाइका लागि परिवारले ठूलो संघर्ष गर्नुपरेको र धरौटी तथा मुद्दाका कारण रिहा हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै गुरुङले अबदेखि पीडित परिवारलाई सिधै गृह मन्त्रालयको नेतृत्वसँग सम्पर्क गर्न सार्वजनिक आह्वान गरेका छन्।
“जेनजीको रगतमा उभिएर शासन गरिरहेकाहरूले नै यसको जिम्मेवारी लिनुपर्छ,” भन्दै उनले रिहाइका निम्ति गृहमन्त्री ओम प्रकाश अर्याल, स्वकीय सचिव धिरज जोशी र गृहसचिव रामेश्वर दंगाललाई सम्पर्क गर्न आग्रह गरेका हुन्। उनले गृह प्रशासनका जिम्मेवार अधिकारीहरूको सम्पर्क नम्बर समेत सार्वजनिक गर्दै पीडितहरूलाई न्यायका लागि दबाब दिन आग्रह गरेका छन्।
