५ आश्विन २०८३, सोमबार

यो उत्सव मनाउने बेला होइन, कलिला केटाकेटीको रगतसँग खेलबाड नगरियोस्: रवि लामिछाने

243

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्था गम्भीर रहेको भन्दै अहिले उत्सव मनाउने समय नभएको बताएका छन्। कारागारबाट छुटेपछि पार्टीको जिम्मेवारी सम्हाल्दै उनले देशमा ‘जेन्जी’ (नयाँ पुस्ता) को विद्रोह भइरहेको र कलिला बालबालिकाको रगत बगेको अवस्थामा आफू केवल जिम्मेवारी बोधका साथ उपस्थित भएको बताए।

आफूविरुद्ध राज्य संयन्त्र एकजुट भएर लागे पनि सत्यको सधैँ जित हुने विश्वास उनले व्यक्त गरे। “मसँग अब एक मुठ्ठी सास मात्र बाँकी छ, तर सत्यको साहस भयो भने अरू केही नचाहिने रहेछ,” उनले भने। उनले आफ्नो अनुपस्थितिमा पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाएकोमा कार्यवाहक सभापति डीपी अर्याल र सम्पूर्ण नेता-कार्यकर्तालाई धन्यवाद समेत दिए।

संसद् पुनर्स्थापनाको चर्चाप्रति आपत्ति
सभापति लामिछानेले पुराना राजनीतिक दलहरूले दुई तिहाइको दम्भ देखाएर फेरि संसद् ब्युँताउन खोजेको भन्दै कडा आपत्ति जनाए। भ्रष्टाचारका काण्डहरू सामसुम पार्ने र जनताका मुद्दामा माइक काट्ने संसद्को औचित्य समाप्त भइसकेको भन्दै उनले अब ताजा जनादेश (निर्वाचन) मा जानुको विकल्प नरहेको स्पष्ट पारे।

नयाँ शक्तिको एकता र निर्वाचनको माग
उनले नयाँ शक्तिहरू र ‘जेन्जी’ पुस्ताको सपना पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको बताए। सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै उनले कुनै पनि बहानामा चुनाव बिथोल्ने षडयन्त्र नगर्न चेतावनी दिए। साथै, विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न आफ्नो पार्टी निरन्तर लागिरहने प्रतिबद्धता समेत दोहोऱ्याए।

आफू न्यायको लडाइँमा रहेको र सिंगो देशमाथि भएको अन्यायविरुद्ध लड्न तयार रहेको बताउँदै उनले सबै नयाँ शक्तिहरूलाई एकढिक्का हुन आह्वान गरे। उनले सञ्चारकर्मी र आम नागरिकले दिएको साथप्रति आभार प्रकट गर्दै शहीदहरूको सपना पूरा नभएसम्म विश्राम नलिने बताए।

Author

Leave A Reply

Your email address will not be published.