पार्टीको मूल जिम्मेवारीमा फर्किँदै रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने भएका छन्। उपसभापति डोलप्रसाद अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी लामिछाने तत्कालै पार्टी नेतृत्वमा फर्किने जानकारी गराएका हुन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने आज थुनामुक्त हुँदैछन्। सहकारी ठगी प्रकरणमा हिरासतमा परेपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो भने पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्यालले सम्हाल्दै आएका थिए। आजै भैरहवा पुगेर धरौटी बुझाएपछि उनी राजनीतिक गतिविधिमा सक्रिय हुने रास्वपाले जनाएको छ।