४ आश्विन २०८३, आईतवार

निर्वाचन आयोगद्वारा राजनीतिक दल र उम्मेदवारलाई ६३ बुँदे निर्देशन जारी (पूर्ण विवरणसहित)

199

काठमाडौँ
निर्वाचन आयोगले आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न राजनीतिक दल तथा उम्मेदवारहरूका लागि ६३ बुँदे विस्तृत निर्देशन जारी गरेको छ । आयोगको फागुन ३ गतेको निर्णयअनुसार निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि उक्त निर्देशनहरू जारी गरिएको हो ।

आयोगले जारी गरेको निर्देशनमा निर्वाचन प्रचारप्रसार, आर्थिक पारदर्शिता, सवारी साधनको प्रयोग र सामाजिक सञ्जालको उपयोगबारे कडा मापदण्ड तोकिएको छ ।

प्रचारप्रसारमा कडाइ र ७५ ग्रामको कागज मात्र प्रयोग गर्न पाइने
आयोगको निर्देशनअनुसार निर्वाचन प्रचारप्रसारका लागि ७५ ग्रामसम्मको कागजमा तीन रङसम्म भएको र बढीमा ७५×१८ इन्च आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाइनेछ । भित्तेलेखन गर्न, पम्पलेट टाँस्न र ठूला डिजिटल बोर्डहरू राख्न पूर्ण रूपमा निषेध गरिएको छ । उम्मेदवारले आफ्नो कार्यालय बाहेक अन्य स्थानमा डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न पाउने छैनन् ।

सवारी साधन प्रयोगको सीमा
निर्देशनअनुसार उम्मेदवारले निर्वाचन क्षेत्रमा बढीमा दुई वटा चारपाङ्ग्रे वा तीन वटा मोटरसाइकल मात्र प्रयोग गर्न पाउनेछन् । यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा ४ वटा घोडा प्रयोग गर्न सकिने तर सोको अनुमति निर्वाचन अधिकृतबाट लिनुपर्ने व्यवस्था गरिएको छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रयोग
उम्मेदवारले सामाजिक सञ्जालबाट प्रचार गर्दा चरित्र हत्या हुने, घृणा फैलाउने वा मिथ्या सूचना प्रवाह गर्ने कार्य गर्न पाउने छैनन् । टेलिभिजन र रेडियोबाट विज्ञापन प्रसारण गर्दा एक पटकमा बढीमा १ मिनेट र २४ घण्टामा बढीमा ४ पटक मात्र प्रसारण गर्न पाइनेछ । पत्रपत्रिकाको हकमा दैनिक बढीमा ४×२५ सेन्टिमिटर साइजको विज्ञापन मात्र दिन पाइनेछ ।

मौन अवधि र भोजभतेर निषेध
मतदान हुने दिनभन्दा ४८ घण्टा अगाडिदेखि (मौन अवधि) कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, सभा वा जुलुस निकाल्न र सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । साथै, निर्वाचनको क्रममा मतदातालाई लोभलालच देखाउन नगद वितरण गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने वा उपहार दिने जस्ता कार्यलाई कडा रूपमा निषेध गरिएको छ ।

आर्थिक पारदर्शिता र खर्च विवरण
उम्मेदवारहरूले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत मात्र खर्च गर्नुपर्नेछ । २५ हजार रुपैयाँभन्दा बढीको सहयोग लिँदा अनिवार्य रूपमा बैंकमार्फत लिनुपर्ने र निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण आयोगमा बुझाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

बालबालिकाको प्रयोग र सरकारी स्रोतको दुरुपयोगमा रोक
निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ । सरकारी कर्मचारी, सुरक्षाकर्मी र सार्वजनिक पदमा रहेका व्यक्तिहरूले कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । सरकारी सवारी साधन र सार्वजनिक सम्पत्तिको प्रयोग गरी चुनावी र्‍याली वा सभा गर्न पाइने छैन ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यी निर्देशनहरूको उल्लंघन भएमा निर्वाचन आचारसंहिता बमोजिम कडा कारबाही गरिनेछ । आयोगले सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताको पूर्ण पालना गरी नमुना निर्वाचन सम्पन्न गर्न सहयोग गर्न अपिल समेत गरेको छ ।

निर्वाचन आयोगद्वारा राजनीतिक दल र उम्मेदवारलाई ६३ बुँदे निर्देशन जारी

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.