५ आश्विन २०८३, सोमबार

‘सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न म घण्टीमा भोट माग्दैछु’ : रवि लामिछाने

230

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने केही दिनको अस्पताल बसाई र आरामपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। स्वास्थ्य लाभ गरी फर्कने क्रममा उनले एक भावुक र आक्रामक सन्देश जारी गर्दै अबको राजनीति ‘घटना’ नभई ‘इतिहास’ हुने उद्घोष गरेका छन्।

लामिछानेले आफू केवल सिंहदरबार पुग्नका लागि नभई, वर्षौँदेखि कुशासनको अड्डा बनेको सिंहदरबारको प्रवृत्ति बदल्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले भनेका छन्, “एकाध पुल र सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो रुचि छैन, म सिंहदरबारबाटै ‘निलो क्रान्ति’ सुरु गर्ने स्पष्ट म्याण्डेट चाहन्छु।”

पुराना राजनीतिक दल र तिनका नेताहरूलाई लक्षित गर्दै उनले नीति र सिद्धान्तको कुरा गर्नेहरूले देशलाई रसातलमा पुर्‍याएको आरोप लगाए। उनले जस्तोसुकै शक्ति र गठबन्धन मिलेर आए पनि आफूहरूले मतपत्रमार्फत त्यसको सामना गर्ने चुनौती दिएका छन्।

फागुन २१ लाई नेपाली इतिहासको ‘माइलस्टोन’ संज्ञा दिँदै उनले अबको संसदमा प्रतिपक्ष समेत नयाँ हुनुपर्ने र देशलाई बिचौलियाहरूको मुठ्ठीबाट मुक्त गर्नुपर्नेमा जोड दिए। आफ्नो व्यक्तिगत भविष्यभन्दा देशका सन्ततिको भाग्य ठूलो भएको बताउँदै उनले परिवर्तनका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।

Author

Leave A Reply

Your email address will not be published.