५ आश्विन २०८३, सोमबार

गगन थापा लक्षित शंकर पोखरेलको स्टाटस: देश संकटमा हुँदा उत्सव मनाउने कि मनोबल उठाउने?

214

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र सम्बोधनलाई लक्षित गर्दै कडा वैचारिक प्रहार गर्नुभएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन र त्यहाँ महामन्त्री थापाले व्यक्त गरेका धारणाप्रति संकेत गर्दै पोखरेलले सामाजिक सञ्जालमार्फत ‘दास’ र ‘स्पार्टाकस’ को नयाँ व्याख्यासहित जवाफ फर्काउनुभएको हो।

महासचिव पोखरेलले भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नुलाई ‘दासता’ को संज्ञा दिँदै त्यसका विरुद्ध आवाज उठाउनु नै वास्तविक स्वाभिमान भएको उल्लेख गर्नुभएको छ। महामन्त्री थापाले वर्तमान सरकार र राजनीतिक समीकरणमाथि उठाउँदै आएका प्रश्नहरूको प्रतिवाद गर्दै पोखरेलले विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको टिप्पणी गर्नुभएको छ। उहाँले संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको तथा जनस्तरमा आक्रोश र पीडा बढिरहेका बेला राजनीतिक ‘उत्सव’ मनाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।

गगन थापाले आफूलाई विद्रोही र परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गरिरहँदा पोखरेलले भने वास्तविक विद्रोही (स्पार्टाकस) को परिभाषा फरक हुने तर्क गर्नुभएको छ। उहाँका अनुसार देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरूलाई कतिपयले ‘दास’ देखे पनि ती नै वास्तवमा आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्ने ‘स्पार्टाकस’ हुन्। पोखरेलको यो अभिव्यक्तिले कांग्रेसको विशेष महाधिवेशन र त्यहाँ भइरहेका भाषणहरूलाई केवल राजनीतिक स्वार्थका लागि गरिएको तडकभडकका रूपमा चित्रण गर्न खोजेको देखिन्छ।

महासचिव पोखरेलले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोक्नेहरूले मात्र मुलुकको रक्षा गर्न सक्ने दाबी गर्दै अराजकताका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु नै आजको वास्तविक साहस भएको बताउनुभएको छ। हिजो विशेष महाधिवेशनको उद्घाटन सत्रमा महामन्त्री थापाले सत्तापक्षको कडा आलोचना गरेपछि पोखरेलले त्यसको वैचारिक खण्डन गर्दै यो धारणा सार्वजनिक गर्नुभएको हो।

Author

Leave A Reply

Your email address will not be published.