५ आश्विन २०८३, सोमबार

ओलीले लगाएको ‘गुन’ तिर्न अदालत आएको हुँ : रवि लामिछाने

226

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि गरेको ‘गुन’ तिर्न अदालत आएको भन्दै व्यङ्ग्य गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले आइतबार एक अन्तर्वार्तामा आफूले रविलाई गुन लगाएको तर उनले रिसिइबी साध्ने गरेको बताएका थिए । सोही कुराको जवाफ दिँदै लामिछानेले भने, “केपी ओलीजीले खुब गुन लगाउनुभएको छ, उहाँले लगाएको त्यही गुन तिर्न म अहिले सातै जिल्लाका अदालतमा दौडिरहेको छु ।” उनले ओलीकै कारण आफूले एक हप्ताभित्र सातवटा जिल्ला अदालतमा तारिख बुझ्नुपर्ने बाध्यता रहेको र यसले जिउमा किला ठोकेको जस्तै पीडा दिएको गुनासो गरे ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा २ करोड ६८ लाख धरौटी बुझाएर गत शुक्रबार रिहा भएका लामिछानेले अझै पनि अन्य जिल्लाहरूमा मुद्दा बाँकी रहेकाले आफू त्यसकै तयारीमा रहेको बताए । उनीविरुद्ध काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा लगायतका जिल्ला अदालतमा मुद्दा प्रक्रिया चलिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.