फागुन २१ मा निर्वाचन हुनैपर्छ, तयारीमा जुट्नुस् : डा. शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन जसरी पनि हुनुपर्नेमा जोड दिएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ को सुन्दरहरैंचामा स्थानीय नेताहरूसँगको भेटघाटमा उनले निर्वाचनका लागि जुट्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिए।
प्रजातन्त्रको जग निर्वाचन भएको उल्लेख गर्दै डा. कोइरालाले संविधान बचाउन र मुलुकलाई संक्रमणबाट जोगाउन पनि चुनाव अनिवार्य रहेको बताए।
यद्यपि, सरकारको फितलो तयारीप्रति उनले आशंका व्यक्त गरे। ‘देशमा लुटिएका हतियार बाहिरै छन्, कैदीहरू फरार छन् र नेताहरूलाई हिँडडुलमा अवरोध छ,’ कोइरालाले प्रश्न गरे, ‘यस्तो अवस्थामा सरकारले निर्वाचनको वातावरण कसरी बनाउँछ?’ उनले कांग्रेस निर्वाचनका लागि आतुर रहे पनि सरकारको तयारी सन्तोषजनक नभएको टिप्पणी गरे।