राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइनबाटै धितो रोक्का र फुकुवा सेवा सुरु, ८०० भन्दा बढी कार्य सम्पन्न
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ सेवालाई डिजिटल बनाउँदै अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का तथा फुकुवा गर्ने कार्य सुरु गरेको छ। सरकारको शासकीय सुधार र ‘डिजिटल नेपाल’को लक्ष्यलाई सघाउ पुर्याउन बैंकले यो सेवा कार्यान्वयनमा ल्याएको हो।
बैंकका अनुसार हालसम्म ८०० वटाभन्दा बढी धितो बन्धक रोक्का तथा फुकुवा प्रक्रिया यसै प्रणालीमार्फत सफलतापूर्वक सम्पन्न भइसकेका छन्। यसअघि बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच यसबारे समझदारी भएको थियो।
अनलाइन प्रणालीले गर्दा अब ग्राहकहरूले धितो रोक्का र फुकुवाका लागि लामो समय कुर्नुपर्ने छैन। यसबाट सेवा प्रक्रिया छिटोछरितो, पारदर्शी र झन्झटमुक्त हुनुका साथै ग्राहकको समय र खर्च समेत बचत हुने बैंकले जनाएको छ।
देशभर ७७ वटै जिल्लामा ३१५ शाखा कार्यालयमार्फत सेवा दिइरहेको पूर्ण सरकारी स्वामित्वको यस बैंकले पछिल्लो समय आधुनिक र प्रविधिमैत्री बैंकिङमा विशेष जोड दिँदै आएको छ।